नुवाकोटमा आजदेखि भोलि बेलुकासम्म निषेधाज्ञा लागू
नुवाकोट, भदौ २७ – जेन–जी आन्दोलनका कारण उत्पन्न परिस्थितिलाई दृष्टिगत गर्दै नुवाकोट जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी शशिधर गिमिरेले शुक्रबार विज्ञप्ति जारी गर्दै जिल्लाभर आइतबार भदौ २७ गते बिहान ७:३० बजेदेखि भदौ २८ गते बेलुका ६:०० बजेसम्म निषेधाज्ञा लागू हुने जानकारी दिएका हुन ।
विज्ञप्ति अनुसार सो अवधिमा प्रदर्शन, जुलुस, धर्ना, हुलदंगा तथा भिडभाडमा प्रतिबन्ध लगाइएको छ। यस अवधिमा अत्यावश्यक सेवाका सवारी साधनबाहेक निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
कुन–कुन सवारी साधन सञ्चालनमा अनुमति
निषेधाज्ञा अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, पर्यटक सवारी साधन, मानव अधिकार तथा कुन्टलिङ नियोगका सवारी साधन, हवाई टिकटको आधारमा हवाई यात्रु आवतजावत गर्न पाउनेछन्।
प्रमुख जिल्ला अधिकारी गिमिरेले आदेशको उल्लङ्घन गर्नेहरूलाई प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत दिनुभएको छ। साथै, परिस्थितिको विश्लेषण गरी आवश्यक भए थप सूचना जारी गरिने उल्लेख गरिएको छ।


