अन्तरिम सरकार गठनबारे छलफल केही घण्टा सारियो
काठमाडौँ, भदौ २७ – अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति प्रक्रियाबारे आज बिहान ९ बजेका लागि तय भएको छलफल कार्यक्रम केही घण्टाका लागि सारिएको छ।
राष्ट्रपति निवास शीतल निवासमा हुने भनिएको छलफल दलहरू र आन्दोलनरत जेनजी पक्षबीच आन्तरिक परामर्श आवश्यक परेकाले सारिएको स्रोतले जनाएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले गएराति अबेरसम्मै विभिन्न पक्षसँग भेटवार्ता गरेका थिए । छलफलमा रहेका दलहरूले संसद् विघटन नगरी नयाँ प्रधानमन्त्री चयन गर्नुपर्ने धारणा राखेका छन् भने आन्दोलनरत पक्ष जेनजीले संसद् विघटनको अडान लिएको छ।
विद्यमान संविधानअनुसार संसद्को सदस्य नभएको व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने प्रावधान रहेकाले पनि वार्तामा मतैक्य कायम गर्न कठिनाइ भइरहेको स्रोतले जनाएको छ।

