नुवाकोटमा क्षतिग्रस्त एमाले जिल्ला पाटी कार्यालयको सरसफाइ सुरु
नुवाकोट, भदौ २७ – जेन्जी पुस्ता आबद्ध समूहको आयोजनामा भदौ २४ गते भएको प्रदर्शनका क्रममा अराजक समूहको घुसपैठपछि आगजनीमा परेर क्षतिग्रस्त भएको नेकपा एमाले नुवाकोटको विदुरस्थित जिल्ला पाटी कार्यालयमा आजदेखि सरसफाइ सुरु गरिएको छ।
प्रहरीको मुचुल्का भएपछि एमाले र यसको भातृ संगठनमा आबद्ध नेता–कार्यकर्ताले कार्यालय परिसर सफा गर्ने काम थालेका हुन्। उनीहरूले सरसफाइसँगै मर्मतसम्भार र पुनर्निर्माणको तयारी पनि अघि बढाएका छन्।
आन्दोलनका क्रममा कार्यालय भवनमा गरिएको आगजनीका कारण फर्निचर, कागजातलगायतका सामग्री जलेर नष्ट भएका थिए। सरसफाइपछि क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमार्फत कार्यालयलाई पुनः सञ्चालनमा ल्याउने एमाले कार्यकर्ताले जनाएका छन्।

