गोरखामा कर्फ्यू हटाइयो, जनजीवन क्रमशः सामान्यतर्फ
गोरखा, भदौ २७– गोरखामा लागू गरिएको कर्फ्यू आज शुक्रबारबाट हटाइएको छ। २४ गतेदेखि लागू भएको कर्फ्यू जेनजी आन्दोलन क्रमशः कम हुँदै गएपछि जिल्ला प्रशासन कार्यालयले हटाउने निर्णय गरेको हो।
गोरखाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले भने, “अहिले गोरखामा जनजीवन सामान्य छ। आवश्यकता महसुस भएमा परिस्थिति हेरेर फेरि कडाइ गर्न सकिन्छ।”
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै मर्यादित र सावधानीपूर्वक गतिविधि गर्न आग्रह गरेको छ। साथै, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, व्यापार व्यवसाय, यातायात र निजि तथा सामुदायिक विद्यालय सञ्चालनमा ल्याउन समेत भनिएको छ। तर, यातायात सञ्चालन गर्दा अन्य जिल्लाको अवस्थालाई पनि ध्यान दिनुपर्ने प्रशासनले जनाएको छ।
यद्यपि कर्फ्यू हटाइए पनि गोरखामा विद्यालय, सरकारी कार्यालय, यातायातका साधन र व्यापार व्यवसाय अझै ठप्प अवस्थामा रहेको स्थानीय व्यवसायी पुष्कर अर्यालले बताए। यसैबीच, गोरखामा राजनीतिक दल, विद्यार्थी संगठन र युवाहरूले संविधानअनुसार अन्तरिम सरकार गठन गर्न माग गर्दै विज्ञप्ति जारी गरेका छन्।

