संसद विघटन र निर्णय प्रक्रियामा सहभागिता सुनिश्चित गर्नुपर्ने जेन-जीको अडान
काठमाडौं, भदौ २७ – जेन-जी आन्दोलनमा आबद्ध समूहले संसद विघटन हुनैपर्ने अडान दोहोर्याएका छन्। साथै, निर्णय प्रक्रियामा आफ्नो सहभागिता सुनिश्चित गर्नुपर्ने माग पनि राखेका छन्।
जेन-जीहरूको प्रतिनिधि मञ्च ‘हामी नेपाल’ले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै आफ्नो अबको प्रमुख एजेन्डा संसदको विघटन र निर्णय प्रक्रियामा जेन-जी पुस्ताको सहभागिता हुने स्पष्ट पारेको हो।
यस क्रममा आन्दोलनकारीहरूले अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अघि सारेका छन्। कार्कीले पनि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संसद विघटन र आन्दोलनका क्रममा भएको दमनको छानबिनलाई मुख्य सर्त बनाएकी छन्। उनले माग, मर्म र भावना अनुसारको मार्गचित्रमा काम गर्न नपाउने हो भने आफू प्रधानमन्त्री नबन्ने अडान समेत सार्वजनिक गरेकी छन्।
तर, राष्ट्रपति रामचन्द्र पौडेल र संसदमा रहेका प्रमुख दलहरूले भने संसद विघटनको अडानलाई अस्वीकार गर्दै आएका छन्। आजै सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले संयुक्त विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले लिएको अडानमा समर्थन जनाएका छन्।

