भाटभटेनी धरान शाखामा चारजनाको जलेको शव फेला



धरान, भदौ २७ – जेनजी आन्दोलनका क्रममा अराजक समूहले आगजनी गरेको भाटभटेनी सुपरमार्केटको धरान शाखामा चारजनाको जलेको शव फेला परेको छ।

मंगलबार राति तोडफोड र लुटपाटसँगै सुरु भएको आगलागी अझै पूर्ण रूपमा नियन्त्रणमा नआएको अवस्थामा शुक्रबार दिउँसो दोस्रो तल्लामा एक र तेस्रो तल्लामा तीनजनाको शव भेटिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगुले जानकारी दिए ।

जवेगुका अनुसार जलेको अवस्थामा भेटिएका शवको पहिचान खुल्न बाँकी छ। शव पूर्ण रूपमा जलेका कारण लिङ्गसमेत छुट्याउन नसकिएको र ती शव लुटपाटका क्रममा भित्र पसेकाहरूको हुनसक्ने आशंका गरिएको छ।

मंगलबार राति आगजनीपश्चात भाटभटेनीभित्र केही व्यक्ति फसेको हल्ला चलेको थियो। प्रहरीले अहिले मृतकको पहिचान गर्ने प्रयास जारी राखेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्