जेन–जी प्रदर्शनपछि सडक सफाइमा १०० गाडी परिचालन
काठमाडौं, भदौ २७ – काठमाडौं महानगरपालिकाले ‘जेन–जी’ प्रदर्शनका क्रममा सडकमा छरिएका भग्नावशेष हटाउने काम सुरु गरेको छ।
फोहर तथा भग्नावशेष पन्छाउने क्रममा ब्रुमर, फोहर व्यवस्थापन गाडी र अन्य साधनसहित १०० गाडी परिचालन गरिएको महानगरपालिकाअन्तर्गत वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिए ।
उनका अनुसार कालीमाटी, टेकु, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बानेश्वरलगायत स्थानका सडक सफा भइसकेका छन् भने अन्य स्थानमा सफाइ कार्य जारी छ। “हाल महानगरको सफाइ टोलीले सडक मात्र सफा गरेको छ, कार्यालय र व्यक्तिको घर सफा गर्ने काम सुरु भएको छैन,” प्रमुख राईले बताए।
जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण उपत्यकास्थित प्रहरी कार्यालयसहित सार्वजनिक भवन र निजी घरमा ठूलो क्षति पुगेको र ती स्थान सफा गर्न अझै समय लाग्ने पनि उनले जानकारी दिए ।
यसैबीच, महानगरपालिकाले सिसाजन्य तथा हानिकारक फोहरको सुरक्षित व्यवस्थापनका लागि सम्बन्धित पक्षलाई सहयोग गर्न अनुरोध गरेको छ।

