सुशीला कार्की अन्तरिम सरकारको पहिलो महिला प्रधानमन्त्री नियुक्त, आजै शपथ
काठमाडौं, भदौ २७ – राजनीतिक सहमति जुटेसँगै पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छिन् । उनले आजै बिहान ९ बजे शपथग्रहण गर्न लाग्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दै शपथग्रहण कार्यक्रम तय गरिएको राष्ट्रपतिका सल्लाहकार किरण पोखरेलले जानकारी दिए । यससँगै कार्की नेपाली राजनीतिक इतिहासमै पहिलो महिला प्रधानमन्त्री बन्ने भएकी छिन्।
को हुन् सुशीला कार्की?
२०७३ साल असारदेखि २०७४ जेठसम्म सर्वोच्च अदालतको नेतृत्व गर्नुभएका कार्की नेपालको पहिलो महिला प्रधानन्यायाधीश हुन। इमानदार, निष्पक्ष र साहसी न्यायाधीशका रूपमा परिचित उनले भ्रष्टाचारविरुद्ध कठोर निर्णय लिएकी थिइन ।
उनको कार्यकालमा नागरिकता आमाको नामबाट लिन सक्ने आदेश, ठूला राजनीतिक नेताविरुद्धका भ्रष्टाचार मुद्दामा निर्णय, र तत्कालीन सांसद मोहम्मद अफताब आलममाथि हत्या आरोपमा अनुसन्धान अघि बढाउने आदेशजस्ता ऐतिहासिक फैसलाहरू भएका थिए।
निडर स्वभाव, सरल जीवनशैली र न्यायिक स्वतन्त्रता कायम राख्ने दृढताका कारण उनले न्यायपालिकाको छवि जनतामाझ पुनर्स्थापित गर्न योगदान दिएकी थिइन । राजनीतिक शक्तिहरूले ल्याएको महाभियोग प्रस्ताव पनि व्यापक जनसमर्थनका कारण अघि बढ्न सकेन।

