नेपालको पहिलो महिला प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, इतिहासमा नयाँ कीर्तिमान



काठमाडौं, भदौ २८ – नेपालको राजनीतिक इतिहासमा पहिलोपटक महिला प्रधानमन्त्री बनेर सुशीला कार्कीले नयाँ कीर्तिमान राख्नुभएको छ। सर्वोच्च अदालतकी पहिलो महिला प्रधानन्यायाधीश बनेर पहिल्यै इतिहास रचिसकेकी कार्की अब कार्यकारी प्रमुखको रूपमा पनि मुलुकको नेतृत्व गर्न पुग्नुभएको हो।

जेन–जी आन्दोलनको मागअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले असाधारण राजनीतिक परिस्थितिमा दल तथा सरोकारवालासँग परामर्श गरी कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो।

शैक्षिक तथा पेशागत यात्रा

विसं २००९ जेठ २५ गते विराटनगरको शङ्खरपुर–३ मा जन्मनुभएकी कार्कीले महेन्द्र मोरङ कलेजबाट विसं २०२८ मा बिए र बनारस हिन्दू विश्वविद्यालयबाट २०३१ मा राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको हो। त्रिभुवन विश्वविद्यालयबाट २०३४ मा कानुन स्नातक गरी २०३५ चैत्र १६ गतेदेखि कानुन व्यवसाय सुरु गर्नुभएको थियो।

उहाँले २०४२ देखि तीन वर्ष महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्यापन गर्नुभयो। त्यसपछि २०४५ देखि २०४७ सम्म कोशी अञ्चल बारको अध्यक्ष र २०५९ देखि २०६१ सम्म विराटनगर पुनरावेदन बारको अध्यक्ष हुनुहुन्थ्यो। २०६१ पुस ५ गते वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गर्नुभएकी कार्की २०६५ माघ ९ गते सर्वोच्च अदालतको अस्थायी न्यायाधीश, २०६७ मङ्सिर २ गते स्थायी न्यायाधीश र अन्ततः २०७३ असारमा देशकी पहिलो महिला प्रधानन्यायाधीश बन्नुभएको हो।

अन्तर्राष्ट्रिय अनुभव र पहिचान

कार्कीले अमेरिका, बेलायत, चीन, भारत, श्रीलङ्का, जापान, तान्जिनिया, नेदरल्याण्डलगायत मुलुकको भ्रमण गर्नुभएको छ। नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा निपुण कार्की निडर, इमानदार र सरल जीवनशैलीका कारण परिचित हुनुहुन्छ।

प्रधानन्यायाधीशका रूपमा १४ महिना सेवा पुर्‍याउँदा उहाँले न्यायपालिकाको छवि स्वच्छ बनाउन योगदान दिनुभएको थियो। अब प्रधानमन्त्रीको रूपमा उहाँको नेतृत्व मुलुकको राजनीतिक संकट समाधानतर्फ कसरी उन्मुख हुन्छ भन्ने उत्सुकता बढेको छ।

प्रतिक्रिया दिनुहोस्