विराटनगरले दिएको मुलुकलाई पहिलो महिला प्रधानमन्त्री



विराटनगर, भदौ २८ । पूर्वी नेपालको औद्योगिक तथा राजनीतिक सहर तथा कोशी प्रदेशको राजधानी विराटनगरले मुलुकलाई पहिलो महिला प्रधानमन्त्री प्रदान गरेको छ । यसअघि पनि नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालादेखि मातृकाप्रसाद कोइराला, नगेन्द्रप्रसाद रिजाल, गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीसम्म विराटनगरले मुलुकलाई नेतृत्व दिने परम्परा कायम गरेको थियो ।

आजदेखि विराटनगर महानगरपालिका वडा नम्बर ११ निवासी सुशीला कार्की नेपालकै पहिलो महिला प्रधानमन्त्रीका रूपमा पदभार सम्हाल्नुभएको छ । इमानदार, निडर र हक्की स्वभावकी कार्की लामो समयसम्म धरान र विराटनगरमा वकालत व्यवसायमा संलग्न रहँदै न्यायका पक्षमा संघर्षरत हुनुहुन्थ्यो ।

अधिवक्ता शान्तिराम भण्डारीका अनुसार, सुनसरी र मोरङ जिल्लामा जीविकोपार्जनका लागि वकालत पेसामा आबद्ध हुने क्रममा उहाँ पहिलो महिला वकिलका रूपमा स्थापित हुनुभएको थियो । धरानमा रहँदै महेन्द्र बहुमुखी क्याम्पसमा अध्यापनसमेत गर्नुभएकी कार्कीले ऐतिहासिक जनआन्दोलनपछि विराटनगर पुनरावेदन अदालतमा वकालत गर्दै न्याय क्षेत्रमा योगदान दिनुभयो ।

उहाँको यही पेसागत कर्मशीलता र दृढताले कार्कीलाई वरिष्ठ अधिवक्ता हुँदै मुलुककै पहिलो महिला प्रधानन्यायाधीश बन्ने अवसर दिलायो, र अहिले मुलुकको पहिलो महिला प्रधानमन्त्रीको पदमा पुगेर इतिहास रच्नुभयो ।

सामाजिक अभियन्ता रामकृष्ण आचार्यका अनुसार, कार्कीको इमानदारिता र न्यायप्रतिको लगावले उहाँलाई कानुनी क्षेत्रमा विशिष्ट परिचय दिलाएको थियो । उहाँको परिवार जननायक बिपी कोइरालाको परिवारसँग निकट रहेको र यही क्रममा नेपाली कांग्रेसका नेता दुर्गाप्रसाद सुवेदीसँग विवाह भएको उल्लेख गरिएको छ ।

स्थानीयवासीहरूले कार्कीको प्रधानमन्त्री नियुक्तिलाई महिला सशक्तीकरणको ऐतिहासिक उपलब्धि, विराटनगर र कोशी प्रदेशकै गौरव तथा मुलुकको सुशासन यात्रामा नयाँ ढोका खुलेको रूपमा लिएका छन् । बुद्धिजीवी तुलसीप्रसाद भट्टराई भन्छन्, “विराटनगर नेपाली राजनीतिक इतिहासमा कहिल्यै छुटाउन नहुने अध्याय हो । यहाँबाट पटक पटक प्रधानमन्त्री हुनु यो सहरको योगदान र पहिचान हो ।”

प्रतिक्रिया दिनुहोस्