देशभर साधारण बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ, भदौ २८ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबार दिउँसो देशका पहाडी भू–भागका केही र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी क्षेत्रमा भने एक–दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ ।
आज राति पनि देशभर साधारण बदली रहने पूर्वानुमान गरिएको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी पहाड र तराईका थोरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यसैगरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने चेतावनी दिइएको छ । महाशाखाले सम्भावित पहिरो, बाढी र जलमग्नता जस्ता जोखिमप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

