क्याबिनेटमा नजाने स्पष्ट पारिन् नेता सुमना श्रेष्ठले
काठमाडौँ, भदौ २८। राष्ट्रिय स्वतन्त्र पार्टीकी नेता सुमना श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा जाने तयारी नभएको स्पष्ट पारेकी छिन् ।
सामाजिक सञ्जालमा आफ्नो नाममाथि विभिन्न अड्कलबाजी र टिकाटिप्पणी भएपछि शनिबार फेसबुक लाइभमार्फत प्रतिक्रिया दिँदै उनले क्याबिनेटमा प्रवेश गर्ने कुनै योजना नरहेको बताइन् ।
उनले भनिन्, “कलिला भाइबहिनीहरूको बलिदानमा मन्त्री बन्ने सपना नराखौँ। संस्कार परिवर्तनमा लाग्नुपर्छ, सत्ता होइन। सेवा सोच्नुपर्छ, कुर्सी होइन। कर्म सोचौँ, नाम होइन। मेरोबारे भ्रम छरिएको छ, त्यो भ्रममा नपर्नु, क्याबिनेटमा जान लागेको छैन। युवालाई साथ दिनुपर्छ।”
श्रेष्ठ शुक्रबार राति प्रधानमन्त्री कार्कीको शपथ ग्रहण समारोहमा उपस्थित भएकी थिइन् । त्यही अवसरमा कार्कीलाई बधाई दिएको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनी पनि मन्त्री बन्ने चर्चा चुलिएको थियो ।

