देउवा, ओली र दाहालकै कारण वर्तमान अवस्था बनेको : कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा
काठमाडौँ, भदौ २८ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशको हालको राजनीतिक अवस्था पार्टी सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण बनेको बताएका छन् ।
शनिबार फेसबुकमार्फत जारी गरेको भिडिओ सन्देशमा उनले गत असारमै यी तीन नेतालाई सक्रिय राजनीति छाड्न सुझाव दिएको स्मरण गरे । “देउवा, ओली र दाहाललाई सक्रिय राजनीतिबाट सन्यास लिनुस्, अभिभावकीय भूमिका खेल्नुस् भनेको हुँ, असार १ गते झापाको धुलावारीको कार्यक्रममा,” शर्मा भनाइ छ ।
उनका अनुसार सो सुझावलाई गम्भीरतापूर्वक नलिएकै कारण आजको परिस्थिति उत्पन्न भएको हो । उनले कांग्रेस केन्द्रीय समिति बैठकमै देउवालाई “अब तपाईं छैटौँ पटक प्रधानमन्त्री बन्न हुँदैन” भनेर खुलेर भनेको पनि उल्लेख गरे ।
महामन्त्री शर्माले आफूले राजनीतिक सुधारका लागि प्रयास गरे पनि संस्थागत रूपमा सफल न भएको बताए । उनले एक पटक मात्रै राष्ट्रपति, दुई कार्यकाल प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक सांसद बन्न पाउने व्यवस्था गर्ने प्रस्तावसमेत पार्टीमा राखेको तर स्वीकृत नभएको स्मरण गरे ।
शर्माले भने, “त्यसबेला मेरो यो प्रस्ताव चर्चामा त रह्यो तर पार्टी निर्णय बनाउन सकिनँ।”

