जेन–जी आन्दोलनपछि सुशीला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्तसंगै जनस्तरमा सकारात्मक प्रतिक्रिया
काठमाडौँ, भदौ २८ । जेन–जी पुस्ताको आन्दोलनको बलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएसँगै जनस्तरमा सकारात्मक प्रतिक्रिया व्यक्त भएको छ ।
सरकार ढलेपछि राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संविधानको धारा ६१ (४) अनुसार कार्कीलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । मुलुकको जटिल राजनीतिक परिस्थितिबाट निस्कन कार्की नै उत्तम विकल्प भएको सर्वसाधारणको धारणा छ ।
युवा अमृत चापागाईंले दशकौँदेखि सत्तामा रहेका शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाललाई परास्त गर्नु नै युवाको विजय भएको बताए । उनले कार्कीको नेतृत्व मुलुकलाई सही दिशामा डोर्याउने आशा व्यक्त गर्दै युवा नेताहरू एकजुट हुनुपर्नेमा जोड दिए ।
वरिष्ठ अधिवक्ता देवराज कटुवालले कानुनको गहिरो ज्ञान भएकी कार्कीलाई नेतृत्व दिनु सकारात्मक कदम भएको बताए । उनका अनुसार तत्काल संकट टरे पनि भविष्यका चुनौती सामना गर्न प्रधानमन्त्री कार्की तत्पर हुनुपर्नेछ ।
युवा गणेश चौलागाईंले अस्तव्यस्त राजनीतिक अवस्थामा अनुभवी व्यक्तिले नेतृत्व लिनु मुलुकका लागि आशाको संकेत भएको बताए । उनले मध्यावधि निर्वाचनमार्फत आउने नेतृत्वले युवा पलायन अन्त्यतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले संसद विघटन गरिसकेका छन् । नयाँ प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते बिहीवारका दिन हुने मिति तोकिएको छ ।

