संघीय लोकतान्त्रिक गणतन्त्र र संसदीय प्रणाली जोगाउनुपर्नेमा राष्ट्रपति पौडेलको अपिल
काठमाडौँ, भदौ २८ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र र संसदीय प्रणालीलाई जोगाउन सबै पक्षलाई आह्वान गरेका छन् ।
शनिबार वक्तव्य जारी गर्दै उनले कठिन परिस्थितिबाट मुलुकले शान्तिपूर्ण निकास पाएको बताउँदै आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्न आग्रह गरे ।
राष्ट्रपति पौडेलले भनेका छन्, “देशको अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्नपछि एउटा शान्तिपूर्ण निकास निस्किएको छ। संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ। छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएका छन्।”
उनले बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने, आफैँलाई सम्हाल्ने र निर्वाचनलाई सफल बनाउन सबै पक्षलाई हार्दिक अपिल गरेका छन् ।


