रास्वपा सभापति रवि लामिछाने पुनः नख्खु कारागार पुगे



काठमाडौँ, भदौ २८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नख्खु कारागार पुगेका छन् ।

जेन–जी आन्दोलनको क्रममा भदौ २४ गते प्रदर्शनकारीहरू नख्खु कारागार अगाडि पुगेपछि कारागार प्रशासनले सुरक्षा चुनौती देखाउँदै उनलाई बाहिर निकालेको थियो । त्यसपछि कारागारभित्र कैदीबन्दीहरूले आगजनी गरेका थिए भने धेरै कैदीबन्दीहरू फरार भएका थिए ।

नख्खुको घटनापछि अन्य कारागारहरूबाट समेत कैदीबन्दीहरू भाग्ने क्रम सुरु भएको थियो । अहिले देशभर १० हजारभन्दा बढी कैदीबन्दी कारागार बाहिर रहेको अनुमान गरिएको छ ।

कारागार विभाग र सुरक्षाप्रहरीले फरार कैदीबन्दीहरूलाई फर्किन आग्रह गर्दै आएका छन् । साथै पक्राउ परेका कैदीबन्दीलाई पुनः कारागार चलान गर्ने कार्य पनि भइरहेको छ ।

लामिछानेले कारागारबाट निस्किएदेखि नै आफूलाई पुनः भित्र जान परे तयार रहेको बताउँदै आएका थिए । उनले कारागार प्रशासनले कागजातसहित पठाएको दाबी गरेका थिए भने प्रशासनले त्यस्तो कागजात नदिएको स्पष्ट पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्