जेन–जी आन्दोलनका क्रममा चलचित्र हलमा १७ करोड रुपैयाँको क्षति
काठमाडौँ, भदौ २८ । जेन–जी आन्दोलनका क्रममा देशभरका चलचित्र हलमा ठूलो क्षति भएको चलचित्र संघले जनाएको छ ।
शनिबार बसेको संघको बैठकले हालसम्म प्राप्त विवरणअनुसार ४ हलमा भएको आगजनी र तोडफोडबाट करिब १७ करोड रुपैयाँ बराबरको क्षति पुगेको जानकारी दिएको हो ।
सबैभन्दा धेरै क्षति विराटनगरस्थित भाटभटेनीमा रहेको क्यूएफएक्स मल्टिप्लेक्सलाई पुगेको छ । आगलागीका कारण भवन पूर्णरूपमा जलेको छ भने सो हलमा मात्र करिब १५ करोड रुपैयाँ बराबरको क्षति भएको संघले जनाएको छ ।
यस्तै, काठमाडौंको गोंगबुस्थित ल्होत्से मलको भुइँतलामा रहेको आइएनआई मल्टिप्लेक्सको टिकट काउन्टरमा आगजनी र तोडफोड भएको छ । आगलागीका कारण सो मलको छैटौँ तलामा रहेको हलका उपकरणमा समेत असर परेको संघले जनाएको छ ।
संघले देशभरका अन्य हलहरूबाट समेत क्षतिको विवरण संकलन भइरहेको र सम्पूर्ण नोक्सानीबारे प्रतिवेदन सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ ।

