निवर्तमान प्रधानमन्त्री ओलीविरुद्ध ‘जेन–जी आन्दोलन’मा गोली चलाउने आदेश दिएको अभियोगमा मुद्दा



काठमाडौँ, भदौ २९ । जेन–जी पुस्ताका युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको आरोपमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गरिएको छ ।

पूर्वप्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेस सांसद अभिषेक प्रताप शाहले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा जाहेरी दिएका हुन् । जाहेरीमा आन्दोलनका क्रममा गोली चलाउन ओलीले प्रत्यक्ष आदेश दिएको दाबी गरिएको छ ।

शाहद्वारा दर्ता गरिएको जाहेरीमा सो घटनामा १७ देखि ४५ वर्ष उमेर समूहका एक दर्जनभन्दा बढी युवाको ज्यान गएको र ठूलो सङ्ख्यामा घाइते भएको उल्लेख छ । मृत्यु भएका मध्ये सुलभ राज श्रेष्ठ, यम चौलागाईं, बुद्धि तामाङ, मिसल सारु मगर, पारुहाङ उतमल राई, योगेन्द्र न्यौपाने, विनोद महर्जन, दिल नारायण तामाङ, प्रविन कुलुङ, उमेश महत, निता गौतम, शौरभ किशोर श्रेष्ठ, सुवास बोहोरा र निरज पन्तलगायतको नाम समावेश गरिएको छ ।

जाहेरीमा ओलीमाथि जघन्य अपराधको अभियोग लगाउँदै घटनाबारे गहिरो अनुसन्धान गरी प्रमाणसहित कानुनी कारबाही गर्न माग गरिएको छ । साथै, शव परीक्षण रिपोर्ट र घटनास्थल मुचुल्कालगायतका प्रमाण पेस गर्नुपर्ने मागसमेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्