काठमाडौं महानगरले आजदेखि विद्यालय सञ्चालन तयारी गर्न आग्रह



काठमाडौं, भदौ २९ । काठमाडौं महानगरपालिकाले आगामी आजदेखि विद्यालयमा उपस्थित भई पठनपाठन सञ्चालनका लागि शिक्षक तथा व्यवस्थापनलाई तयारी गर्न आग्रह गरेको छ ।

महानगरको शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञवालीका अनुसार पछिल्ला दिनमा देशमा सिर्जित परिस्थितिका कारण बन्द भएका विद्यालय पुनः सञ्चालनका लागि आवश्यक तयारी गर्न सबैलाई अनुरोध गरिएको हो ।

महानगरले विद्यालयमा कुनै क्षति भए नभएको एकिन गर्न, अभिभावकसँग सम्पर्क गरी विद्यार्थीको अवस्था बुझ्न र अवस्था सामान्य नहुञ्जेलसम्म विद्यार्थीलाई विद्यालयमा ल्याउन–लैजान सहयोग गर्न सूचनामार्फत आग्रह गरेको छ ।

चार बुँदामा जारी सूचनामा भदौ २३ र २४ गतेको घटनापछि विद्यालयमा क्षति भए नभएको एकिन गरी कक्षा सञ्चालनको तयारी गर्न, भदौ ३० गते सोमबारदेखि भने मनोसामाजिक परामर्शसँगै प्रत्यक्ष कक्षा सञ्चालन गर्न भनिएको छ । साथै विद्यालयमा आउन–जान नसक्ने विद्यार्थीलाई श्रव्यदृश्य माध्यममार्फत पढाइका लागि व्यवस्था मिलाउन पनि महानगरले विद्यालयलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्