जितिया महोत्सव स्थगित, घरमै परम्परागत रुपमा मनाउने थारु महिलाको निर्णय
काठमाडौँ, भदौ २९ । देशको विषम परिस्थितिका कारण थारु समुदायले यस वर्ष जितिया पर्व महोत्सवका रूपमा नमनाउने भएका छन् ।
थारु महिला सभाले पर्यटन बोर्डको सभाहलमा भदौ ३० गते सोमबार सामूहिक रुपमा महोत्सव आयोजना गर्ने तयारी गरेको भए पनि अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै सो कार्यक्रम स्थगित गरिएको हो ।
सभाका अध्यक्ष ललिताकुमारी चौधरीले शनिबार विज्ञप्ति जारी गर्दै मुलुकमा भदौ २३ र २४ गते जेनजी आन्दोलनका कारण उत्पन्न असहज अवस्थाले सामूहिक उत्सव सम्भव नभएको बताइन । उनले सबै थारु महिलालाई आ–आफ्नो घरमै परम्परागत रुपमा जितिया पर्व मनाउन आग्रह गरेकी छिन् ।
थारु महिलाको प्रमुख पर्व मानिने जितिया तीन दिनसम्म मनाइन्छ । यस वर्ष भदौ २८ देखि ३० गतेसम्म मनाइने यस पर्वलाई सामूहिक रुपमा महोत्सवका रूपमा मनाउन नसकिए पनि घरघरमै परम्परागत विधिअनुसार पालना गर्न थारु महिला सभाले आग्रह गरेको छ ।

