सिंहदरबार पुनः लयमा फर्किँदै, आजदेखि आधारभूत सेवा सुरु
काठमाडौँ, भदौ २९ । आगजनी, तोडफोड र लुटपाटबाट क्षतिग्रस्त सिंहदरबारलाई पुनः लयमा फर्काउने कार्य सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सहसचिव एवं प्रवक्ता रविलाल शर्माका अनुसार आजदेखि सिंहदरबारबाट आधारभूत सेवा पुनः सुरु हुने भएको छ ।
भदौ २४ गते जेनजी समूहको नाममा भएको आगजनी र तोडफोडबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहितका विभिन्न मन्त्रालय र निकायहरू क्षतिग्रस्त भएका थिए । सहसचिव शर्माले तत्कालको प्राथमिकता जनतालाई सेवा प्रवाह गर्ने रहेको स्पष्ट पार्दै भने, “सिंहदरबारबाट जनतालाई प्रदान गरिने सेवा सुरु भइसकेको छ । आधारभूत सेवा आइतबारदेखि नै सुरु हुन्छ । पूर्ण कार्यमा जान एक हप्ता लाग्न सक्छ ।”
हाल सरसफाइ र क्षतिको मूल्याङ्कनको काम भइरहेको छ । उहाँले क्षतिग्रस्त सामग्रीहरूको अधिकांश खरानी भइसकेकाले विस्तृत मुचुल्का लिन कठिनाइ रहेको बताए । “अधिकांश सामग्री खरानी भइसकेका छन्, खरानीको के मुचुल्का गर्ने ? बसेर काम गर्ने अवस्था भएपछि लगत पनि तयार हुन्छ,” प्रवक्ता शर्माले भने ।
खरानी पुछेर प्रधानमन्त्रीलाई कुर्सी
नयाँ सामग्री खरिद नभएको र पुरानै सामानलाई सफा गरेर प्रयोगमा ल्याइएको सिंहदरबारले जनाएको छ । प्रवक्ता शर्माका अनुसार प्रधानमन्त्री बस्ने कुर्सी र टेबललगायतका सामग्रीहरू खरानी पुछेर स्थानान्तरण गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय गृह मन्त्रालयको नयाँ भवनबाट सञ्चालन गरिने तयारी भइरहेको छ । सहरी विकास तथा भवन विभागका अनुसार सिंहदरबार परिसरमै नयाँ भवन निर्माण सम्पन्न भइसकेको छ ।
हाल सिंहदरबारलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन कर्मचारी र सुरक्षा निकाय सक्रिय रहेको र दीर्घकालीन पुनर्निर्माणका कामलाई पनि अघि बढाइने सरकारको भनाइ छ ।

