रास्वपा नेतृ सुमना श्रेष्ठद्वारा पार्टी परित्याग
काठमाडौँ, भदौ २९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छाड्ने घोषणा गर्नुभएको छ।
उहाँले पार्टी नेतृत्वले कहिल्यै गल्ती नस्वीकार्ने र निरन्तर गल्ती गरिरहने प्रवृत्तिका कारण आफूले पार्टी परित्याग गरेको बताउनुभएको हो। श्रेष्ठले सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै भन्नुभयो, “अब खुलारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मन लाग्दासम्म मनलाग्दी गर्नुहोस्, तर मैले पार्टी छोडेँ।”
उहाँले पार्टीभित्र आलोचना गर्ने आवाजलाई दबाउन मिडिया ट्रायल गरिएको आरोपसमेत लगाउनुभयो। “जहिलेदेखि रास्वपाले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थाल्यो, त्यतिबेलादेखि नै आलोचना गर्दै आएकी हुँ। तर फरक पर्नुको सट्टा उल्टै मिडिया ट्रायल हुन थाल्यो, जुन स्वीकार्य छैन,” उहाँको भनाइ छ।
श्रेष्ठले कांग्रेस, एमालेलगायत दलका तेस्रो पुस्ताका नेताहरूलाई समेत आत्ममन्थन गर्न आह्वान गर्नुभयो। उहाँले भन्नुभयो, “आजको परिस्थिति आउनुमा नेतृत्त्वको कमजोर जिम्मेवारी छ। त्यो किन बोकेर बस्नुहुन्छ? अहिले सही समय आएको छ— आफ्ना नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस्, कि हटाउनुहोस्, कि हट्नुहोस्।”

