जेन-जी आन्दोलनमा मृत्यु भएकाहरूलाई शहीद घोषणा, परिवारलाई १० लाख राहत
काठमाडौं,भदौ २९ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई शहीद घोषणा गर्ने निर्णय गरेकी छन्। साथै, प्रत्येक परिवारलाई १० लाख रुपैयाँको दरले राहत उपलब्ध गराइने भएको छ।
आइतबार पदभार ग्रहण गरेलगत्तै उनले पहिलो हस्ताक्षर यही निर्णयमा गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
हालसम्मको तथ्यांकअनुसार आन्दोलनका क्रममा ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी गरी ७२ जनाको मृत्यु भएको छ। त्यस्तै, १३४ जना प्रदर्शनकारी र ५७ जना सुरक्षाकर्मी घाइते भएका छन्।
सरकारको निर्णयलाई आन्दोलनरत पक्षले आंशिक सकारात्मक कदम भनेका छन् तर आन्दोलन जारी रहने बताएका छन्। उनीहरूले माग पूरा नभएसम्म संघर्ष नरोकिने चेतावनी दिएका छन्।

