जेनजी आन्दोलनका अभियन्ता गुरुङको चेतावनी : ‘पीडितको माग सम्बोधन नभए अन्तरिम सरकार ढल्छ’
काठमाडौँ, भदौ २९ । जेनजी आन्दोलनका अभियन्ता सुदन गुरुङले आन्दोलनपीडितहरूको माग तत्काल पूरा गर्न सरकारसँग माग गरेका छन्।
आइतबार काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा उनले शहीद परिवारको माग भोलि (सोमबार) बिहानसम्म सम्बोधन नभए सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार पनि ढल्ने चेतावनी दिए।
नवनियुक्त प्रधानमन्त्री कार्कीले सिंहदरवार पुगेर पदभार ग्रहण गरेको केहीबेरमै प्रतिक्रिया दिएका गुरुङले भने, “हाम्रो माग अझै पूरा भएको छैन। पीडितले न्याय पाउने कुरा सुनिश्चित नभएसम्म जुनसुकै सरकार आए पनि ढल्छ। म छु, एक्लै भए पनि लड्छु।”
उनका अनुसार आन्दोलन दमनमा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने मुख्य माग अझै अधुरो छ।
कार्यक्रममा शहीद परिवारका सदस्यहरूले पनि न्यायको माग दोहोर्याएका थिए। शहीद प्रवीण कुलुङकी दिदी अनिता कुलुङले दमनमार्फत हत्या गर्ने जिम्मेवारलाई कारबाही गर्न प्रधानमन्त्री कार्कीसँग आग्रह गरिन्।

