नेपालको पहिलो महिला महान्यायाधिवक्ता सविता भण्डारी बराल नियुक्त
काठमाडौँ, भदौ २९। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता सविता भण्डारी बराललाई देशको महान्यायाधिवक्तामा नियुक्त गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले आइतबार भण्डारीलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम गरिएको नियुक्तिसँगै भण्डारी देशको पहिलो महिला महान्यायाधिवक्ता बनेकी छन्।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि तत्कालीन महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका थिए। त्यसपछि प्रधानमन्त्री कार्कीले भण्डारीलाई सिफारिस गरेकी हुन्।
जेनजी आन्दोलनका प्रस्तावमा अन्तरिम प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीलाई राष्ट्रपति पौडेलले ६ महिनाभित्र चुनाव गराउने जिम्मेवारीसहित पदमा पठाएका छन्। अन्तरिम सरकारले आगामी फागुन २१ गते चुनावको मिति तोकेको छ।

