लायन्स क्लब अफ काठमाडौं श्री माछापोखरीद्वारा जेनजी आन्दोलनका घाइतेलाई निःशुल्क भोजन सेवा



काठमाडौं,भदौ २९ । लायन्स क्लब अफ काठमाडौं श्री माछापोखरीले राजधानीका अस्पतालमा उपचाररत जेनजी आन्दोलनका घाइतेलाई निःशुल्क खानाको व्यवस्था गरेको छ।

समाजसेवी संस्था समानुभूति नेपालका तुल्सी श्रेष्ठसँग सहकार्यमा क्लबले राष्ट्रिय ट्रमा सेन्टरमा रहेका ६० जना घाइते र तिनका रेखदेखकर्तालाई सन्तुलित भोजन वितरण गरेको हो। अध्यक्ष सनत कुमार बस्नेतको नेतृत्वमा निवर्तमान अध्यक्ष सजिना सिंह कार्की, सचिव जगदिश्वर थपलिया, कोषाध्यक्ष प्रदिप कार्की तथा समाजसेवी श्रेष्ठसहितको टोलीले खाना वितरण गरेको क्लबले जनाएको छ।

यसक्रममा क्लबले बिरामी सेवा गर्दै आएका तुल्सी श्रेष्ठलाई एक बोरा दाल, चामल, आलु र प्याज सहयोगसमेत गरेको छ। श्रेष्ठले ट्रमा सेन्टर, कान्ति, गंगालाल, सिभिल, वीर र कीर्तिपुरलगायत ६ ठूला सरकारी अस्पतालमा बिरामी र कुरुवालाई बिहान–बेलुकी निःशुल्क खाना खुवाउँदै आएका छन्। खाना नखानेलाई फलफूलको व्यवस्था गर्ने, असहाय बालबालिका तथा वृद्धवृद्धाको उद्धार गरी पालनपोषणसमेत गर्ने काम उनले निरन्तर गर्दै आएका छन्।

स्थापना भएको १७ वर्षदेखि लायन्स क्लब अफ काठमाडौं श्री माछापोखरीले विभिन्न सामाजिक सेवा गर्दै आएको छ। केही दिनअघि मात्र क्लबले नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ कविलासस्थित ब्रम्हेश्वर गुरुकुल विद्यालयमा ४६ विद्यार्थी र ४ शिक्षकलाई खाद्यान्न वितरण गरेको थियो। यस्तै, तीजको अवसरमा काठमाडौं महानगरपालिका–१६ तारकेश्वरधाममा स्वास्थ्य शिविर आयोजना गरी २४८ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका थिए।

प्रतिक्रिया दिनुहोस्