देशभर तीन दिनसम्म खण्डित वर्षाको सम्भावना



काठमाडौं । आइतबारदेखि देशभर मौसम बदली भई ठाउँ–ठाउँमा वर्षा सुरु भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म खण्डित रूपमा वर्षा हुने सम्भावना रहेको छ।

महाशाखाका मौसमविद् गोविन्द झाले लगातारको झरी नभए पनि देशभर बदली रहने र कतैकतै भारी वर्षा हुने जानकारी दिए । उनका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले, साथै अरब सागर र बंगाल खाडीबाट जलवाष्पयुक्त हावा प्रवेश गरेकाले वर्षा गराउने प्रणाली विकसित भएको हो। यससँगै कतैकतै स्थानीय प्रणालीसमेत सक्रिय भएको महाशाखाले जनाएको छ।

आइतबार साँझ चितवन र नवलपुर क्षेत्रमा मौसमी प्रणाली विकसित भई नारायणघाट र डण्डामा भारी वर्षा भएको छ। पछिल्ला तीन घण्टामा चितवन, नवलपरासी, बारा, गुल्मी, गोरखा र कास्कीमा वर्षा मापन गरिएको छ।

हाल देशभर सामान्यतया बदली रही वागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा, साथै कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा, साथै कोशी, मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। सोमबार पनि देशभर बदली रहँदै लुम्बिनी र पहाडी भू–भागका धेरै स्थानमा मध्यम वर्षा, र गण्डकी, लुम्बिनी, कर्णाली तथा कोशी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

यस्तै, भदौ ३० गते राति कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यम वर्षा, र गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्