‘जेनजी आन्दोलन’ पछि आजदेखि देशभरका चलचित्र हल सञ्चालनमा



काठमाडौं,भदौ ३० । ‘जेनजी पुस्ता’ को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र भवन आजदेखि खुल्ने भएका छन्। चलचित्र भवन सञ्चालक तथा चलचित्र वितरकहरूको छाता संस्था नेपाल चलचित्र सङ्घको आइतबार बसेको बैठकले दर्शक र भवनको सुरक्षामा ध्यान दिँदै सञ्चालन गर्ने निर्णय गरेको हो।

सङ्घका अध्यक्ष नरेन्द्र महर्जनका अनुसार तोडफोड र आगजनीबाट ध्वस्त विराटनगरस्थित क्युएफएक्स बाहेक अन्य सबै चलचित्र भवन सोमबारदेखि नियमित सञ्चालनमा आउनेछन्। उनले भने, “सुरक्षालाई उच्च प्राथमिकता दिँदै हामीले चलचित्र भवन सञ्चालनमा ल्याउन लागेका हौँ। अवस्था सामान्य भएसँगै हामी पनि सामान्य अवस्थामै फर्कन लागेका हौँ।”

महर्जनका अनुसार रात्रिकालीन सो पनि सञ्चालन हुनेछ तर राति १० बजेसम्ममा हल बन्द गर्ने व्यवस्था गरिएको छ। सोमबारदेखि ‘रिमै’, ‘मोहर’ लगायत नेपाली चलचित्रसँगै केही विदेशी चलचित्र पनि प्रदर्शन हुने छन्। दसैँको फूलपातीदेखि भने तीन नयाँ नेपाली चलचित्र रिलिज हुने तयारी छ।

जेनजी आन्दोलनको क्रममा भदौ २४ गते भएको प्रदर्शनमा विराटनगरस्थित क्युएफएक्स, बुटवलस्थित क्युएफएक्स, गोङ्गबुस्थित आइएनआईको ल्होत्से मल र भक्तपुरको क्युएफएक्समा क्षति पुगेको सङ्घले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्