माओवादी केन्द्र : ‘जेनजी पुस्ता’ आन्दोलनमा संलग्न देखिए आफ्नै कार्यकर्तामाथि कारबाही गर्ने
काठमाडौं,भदौ ३० । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले ‘जेनजी पुस्ता’को आन्दोलनमा तोडफोड र आगजनीमा संलग्न देखिएका आफ्ना नेता तथा कार्यकर्तामाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ।
पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले आइतबार विज्ञप्ति जारी गर्दै पार्टीसँग सम्बन्धित कसैको संलग्नता पुष्टि भए तत्काल कारबाही गर्ने स्पष्ट पारेका हुन्। उनले सरकारलाई पनि यस्ता घटनामा संलग्न व्यक्तिहरूको तथ्य र प्रमाणका आधारमा सख्त कारबाही गर्न आग्रह गरे।
विज्ञप्तिमा उल्लेख छ, “हाम्रो पार्टीका कार्यालय, नेताकार्यकर्ता र तिनका परिवारको सम्पत्तिमा आगजनी र तोडफोड भएको तथ्य प्रष्ट छ। तर केही व्यक्ति वा समूहले माओवादी कार्यकर्तालाई दोषारोपण गर्ने प्रचारमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।”
साथै, माओवादी केन्द्रले यस्ता आधारहीन प्रचारप्रति सचेत रहन आम जनतालाई अपिल गरेको छ। पार्टीले ‘जेनजी पुस्ता’ले उठाएका मागलाई जायज ठहर गर्दै आन्दोलनभित्र प्रतिगामी, लोकतन्त्र र गणतन्त्र विरोधी तत्व प्रवेश गरेर विध्वंस मच्चाएको भन्दै भत्र्सना पनि गरेको छ।

