जेनजी आन्दोलनको प्रभाव : सवारीचालक लाइसेन्ससम्बन्धी सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द
काठमाडौं,भदौ ३०। सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सम्पूर्ण काम अनिश्चितकालका लागि बन्द भएको छ। जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था विभागको भवन जलेर पूर्ण रूपमा क्षति पुगेपछि लाइसेन्स वितरणदेखि नवीकरणसम्मका सबै प्रक्रिया रोकिएका हुन्।
विभागले आइतबार सूचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि लाइसेन्स वितरण, छपाइ, नवीकरण तथा परीक्षासम्बन्धी सम्पूर्ण कार्य स्थगित गर्ने जनाएको छ। विभागको वेबसाइटसमेत सञ्चालनमा छैन।
प्रतिनिधि सभा भवन नजिकै रहेको विभागको भवन जलेर ध्वस्त भएको छ। कम्प्युटरलगायतका उपकरण नष्ट भइसकेका छन् भने केही भेटिएका पनि छैनन्। तत्काल सर्भर सञ्चालनमा ल्याउन सकिने अवस्था नरहेको विभागका सूचना अधिकारी गणेशमानसिं राई ले जानकारी दिए ।
राईका अनुसार भौतिक संरचना मात्र नभई प्राविधिक प्रणाली नै ध्वस्त भएकाले नजिकैको समयमा सेवा सञ्चालन गर्ने सम्भावना छैन। विभागले जनतालाई असुविधा हुने भए पनि परिस्थिति सामान्य बनेपछि मात्र सेवा सुचारु गर्न सकिने जनाएको छ।

