समीरको चमकमा नेपालले श्रीलंकामाथि जित दर्ता



कोलम्बो,भदौ ३१ । स्ट्राइकर समीर कुमारको उत्कृष्ट प्रदर्शनसहित नेपालले साफ यु–१७ च्याम्पियनसिपको उद्घाटन खेलमा श्रीलंकालाई २–० ले पराजित गरेको छ।

सोमबार कोलम्बोस्थित कोलम्बो रेसकोर्स स्पोर्टस कम्प्लेक्समा सम्पन्न खेलमा दुबै गोल समीरले गर्दै नेपाललाई सेमिफाइनल दौडतर्फ अग्रसर गराए।

समीरले खेलको ५२औं मिनेटमा पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाए। इन्जुरी समयमा उनले निश्चल मगरको पासमा दोस्रो गोल गर्दै व्यक्तिगत ‘ब्र्रेस’ पूरा गरे।

पहिलो हाफमा समीरले दुई उत्कृष्ट अवसर गुमाउँदा नेपालले अग्रता लिन सकेको थिएन। खेलको ३९औं मिनेटमा उनले नजिकैबाट गरेको प्रयास असफल भएको थियो। यस्तै ३२औं मिनेटमा श्रीलंकाका कप्तान इशाक मउफरको हेडर गोलमा परिणत हुन नसकेपछि नेपाल भाग्यमानी बनेको थियो।

श्रीलंका खेलको २७औं मिनेटमै मोहम्मद इफामलाई दोहोरो पहेँलो कार्ड पाएर १० खेलाडीमा सीमित भएको थियो।

यस जितसँगै नेपालले समूह ‘ए’ को दोस्रो खेलमा बिहीबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्