निर्वाचन मिति तोकिएपछि आयोग तयारीमा जुट्दै, कानुन संशोधनबिनाको निर्वाचन प्रश्नमा
काठमाडौँ, भदौ ३१ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ गते हुने गरी मिति तोकेसँगै निर्वाचन आयोग आन्तरिक तयारीमा जुटेको छ । आयोगले अबको केही दिनभित्रै प्रधानमन्त्रीसँग स्रोत साधन र जनशक्ति व्यवस्थापनलगायत विषयमा छलफल गर्ने तयारी गरेको छ । आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सरकार गठनसम्बन्धी विषयमा मौन रहँदै स्रोत साधन उपलब्ध भए तोकिएको मितिमा निर्वाचन गराउन सक्षम रहेको बताए । यद्यपि पाँच जना आयुक्त रहनुपर्ने आयोगमा प्रमुखसहित दुई पद अझै रिक्त छन् ।
संवैधानिक कानुनका जानकार डा. विपिन अधिकारीले निर्वाचन र दलसम्बन्धी कानुन संशोधनबिनाको निर्वाचन वैध नहुने भन्दै खर्चको बेथिति नियन्त्रण, दलको आन्तरिक लोकतन्त्र र पारदर्शितामा सुधार गर्नुपर्ने तर्क गरे । उनका अनुसार प्रतिनिधि सभा विघटन भइसकेकाले अध्यादेशमार्फत कानुन संशोधन गरी निर्वाचन तयारी अघि बढाउन सकिनेछ ।
नेपाल बार एसोसिएसनका अध्यक्ष प्राडा विजयप्रसाद मिश्रले प्रधानमन्त्री नियुक्ति संविधानअनुरूप नभएको दाबी गर्दै दलहरूको सहमतिविना हुने निर्वाचनको वैधतामाथि प्रश्न उठ्ने बताए । तर डा. अधिकारीले संवैधानिक परिषद् मार्फत रिक्त पद पूर्ति ढिलाइ नगरी दलको सहभागिता सुनिश्चित गर्न आयोगको भूमिका महत्वपूर्ण हुने सुझाव दिए ।

