असोज १ गतेदेखि बिपी राजमार्ग २४ घण्टा सञ्चालन हुने
काभ्रे, भदौ ३१ । मनसुनका कारण रातिको समयमा रोक लगाइएको बिपी राजमार्ग आगामी असोज १ गतेदेखि २४ घण्टा सञ्चालन हुने भएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा बसेको सुरक्षा समितिको बैठकले मनसुन अन्त्यतिर पुग्दै र चाडपर्व नजिकिँदै गरेको कारण यातायात सहज बनाउन निर्णय गरेको हो।
गत असार ७ गतेदेखि राति सवारीसाधनमा रोक लगाइएको राजमार्गमा बाढीपहिरोको जोखिम घटेसँगै सञ्चालन पूर्ण रूपमा खोल्न लागिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार धुलिखेलदेखि नेपालथोकसम्मको खतरापूर्ण खण्डमा सतर्कता अपनाइ २४ सै घण्टा आवागमन खुला हुने छ।
बिपी राजमार्ग पूर्वी नेपाललाई छोटो दूरीमा जोड्ने महत्त्वपूर्ण सडक हो, जहाँ दैनिक हजारौँ सवारीसाधन सञ्चालन हुन्छन्।

