भारतको सिमलामा गाडी दुर्घटना, चार नेपालीसहित छ जनाको मृत्यु
काठमाडौं, भदौ ३१ । भारतको हिमाञ्जल प्रदेश, सिमला जिल्लाको कोटखाई नजिक गाडी दुर्घटना हुँदा चार नेपालीसहित छ जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।
मृत्यु हुनेमा सल्यानको कुमाख गाउँपालिका–४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीय लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट रहेका छन्। यस्तै, भारतीय नागरिक चालक जोगिन्दर सिंहको पनि मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ।
दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन्। प्रारम्भिक अनुसन्धान अनुसार चालकले नियन्त्रण गुमाउँदा पिकअप जिप भीरमा खसेको हो। लक्ष्मी र डिल्लीबहादुर अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएका थिए। घाइते दुई जनालाई उपचारपछि डिस्चार्ज गरिएको छ।
भारतीय पत्रिका द हिन्दुस्तान टाइम्स का अनुसार शवलाई पोस्टमार्टमका लागि पठाइएको छ र मृतकका परिवारलाई खबर गरिएको छ। यसबीच, हिमाञ्जल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् र शोकसन्तप्त परिवारलाई आवश्यक सहयोग उपलब्ध गराइने आश्वासन दिएका छन्।

