बाँकेमा बाघको आक्रमणबाट महिलाको मृत्यु
बाँके, भदौ ३१ । बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिकामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। बाँके राष्ट्रिय निकुञ्ज नजिकैको क्षेत्रमा आइतबार हराएकी ४५ वर्षीया लक्ष्मी थारु मृत अवस्थामा फेला परेकी हुन्।
राप्ती सोनारी–३ सिनाबासकी थारु आफन्तको घर वडा–२ माथेबास मदुई गएर फर्कने क्रममा बाटोमै बेपत्ता भएकी थिइन्। खोजतलास गर्दा सोमबार जनमुखी सामुदायिक वन नजिक बाघले खाएको अवस्थामा उनको शव भेटिएको वडा अध्यक्ष मीनकुमार चौधरीले जानकारी दिए।
शवको दुवै खुट्टा खाएको र टाउको भाँचिएको अवस्थामा भेटिएको चौधरीले बताए। उनका अनुसार सो क्षेत्रमा यसअघिदेखि नै बाघको आक्रमण हुँदै आएकाले राति वा एक्लै उक्त बाटो प्रयोग नगर्न स्थानीयलाई आग्रह गरिएको छ।
घटनापछि स्थानीयवासीमा त्रास बढेको छ। उनीहरूले मानिस खाने बाघको खोजी गरी नियन्त्रणमा लिन निकुञ्ज र प्रहरी प्रशासनसँग माग गरेका छन्। मृतकको शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल, नेपालगन्जमा राखिएको र मंगलबार पोस्टमार्टम गरिने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

