चीनसँग व्यापारका लागि मुस्ताङको कोरला नाका सञ्चालन, वैदेशिक व्यापार सुरु



काठमाडौं, भदौ ३१ । चीनसँगको वैदेशिक व्यापारका लागि प्रयोग हुँदै आएका सिन्धुपाल्चोकको तातोपानी र रसुवाको केरुङ नाका सञ्चालनमा ल्याउन नसकेपछि अब मुस्ताङ भन्सारमार्फत कोरला नाकाबाट व्यापार सुरु गरिएको छ।

भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाका अनुसार सोमबारदेखि कोरला नाकाबाट निकासी–पैठारी सुरु भएको हो। “बाढी–पहिरोका कारण क्षतिग्रस्त तातोपानी र रसुवागढी भन्सारबाट आयात–निर्यात हुन सकेको छैन। चीनसँगको व्यापारका लागि सोमबारदेखि कोरला नाका सञ्चालनमा आएको छ। त्यहाँबाट नियमित जाँचपास सुरु भइसकेको छ,” बर्तौलाले जानकारी दिए।

कोरला नाका सञ्चालनमा आएसँगै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै यस नाकाबाट पनि वस्तु आयात गर्न प्रतीतपत्र (एलसी) खोल्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०८१ मा संशोधन गर्दै राष्ट्र बैंकले चिनियाँ भूभाग हुँदै ट्रक वा रेलमार्गमार्फत आयात गर्दा मुस्ताङ भन्सारमार्फत पनि अनुमति दिने व्यवस्था मिलाइएको कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले जनाए।

यसअघि बैंक तथा वित्तीय संस्थाले चीनतर्फका तातोपानी र रसुवा भन्सारमार्फत मात्र आयातका लागि प्रतीतपत्र खोल्ने अनुमति पाएका थिए।

प्रतिक्रिया दिनुहोस्