माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माद्वारा अध्यक्ष प्रचण्डको राजीनामा माग
काठमाडौं, भदौ ३१ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेका छन्। हालैको जेनजी आन्दोलनपछि पुराना पार्टी र नेतृत्वको औचित्य समाप्त भएको दाबी गर्दै शर्माले प्रचण्डले पदबाट हट्नुपर्ने बताएका हुन्।
पार्टीभित्रै बहस सुरु गर्दै उनले १६ बुँदे प्रस्ताव पेश गरी नेतृत्व परिवर्तनको माग गरेका माओवादीका एक नेताले जानकारी दिए। शर्माले हालको परिस्थितिमा पार्टीको रुपान्तरण अपरिहार्य रहेको भन्दै जेनजी आन्दोलनले देखाएको भ्रष्टाचारविरुद्धको सङ्घर्षलाई सकारात्मक ढंगले आत्मसात गर्नुपर्नेमा जोड दिएका छन्।
शर्माले प्रस्तुत गरेका प्रस्तावमा भ्रष्टाचारयुक्त राजनीति, नेतातन्त्र, कमिसनतन्त्र र दलाली अन्त्य गर्ने, वर्तमान सरकारलाई सहयोग गर्दै निर्वाचनतर्फ जानुपर्ने, सम्पत्ति छानबिन आयोग गठन गर्ने, २०४६ पछि पदमा बसेका सबैको सम्पत्ति छानबिन गर्ने र जेनजी आन्दोलनमा भएको जनधन क्षतिबारे उच्चस्तरीय छानबिन आयोग बनाउनुपर्ने जस्ता विषय समेटिएका छन्।
त्यसैगरी उनले प्रचण्डसहित शीर्ष नेतृत्वको तत्काल राजीनामा, प्रत्यक्ष निर्वाचित नेतृत्व प्रणाली, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था, दलित महिला लगायत वञ्चित समुदायका समस्या समाधान, सांस्कृतिक बिचलन र यौन अराजकतामाथि छानबिन, शहीद र बेपत्ता परिवार संरक्षण, श्रम–उत्पादनमार्फत स्वरोजगार, राष्ट्रियताको रक्षा लगायतका १६ वटा एजेन्डा प्रस्तुत गरेका छन्।
शर्मा लामो समयदेखि पार्टीभित्र रुपान्तरणको आवश्यकता औंल्याउँदै आएका नेतामध्ये एक हुन्। जेनजी आन्दोलनले देखाएको चुनौतीलाई आत्मसात नगरे पार्टी र नेतृत्वले औचित्य गुमाउने उनको निष्कर्ष रहेको बताइएको छ।

