प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट
काठमाडौँ, भदौ ३१ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले मंगलबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा देशको विकसित घटनाक्रम, समसामयिक राजनीति र राष्ट्रियसभाको कामकारबाहीबारे छलफल भएको अध्यक्ष दाहालका प्रेस संयोजक डिल्ली मल्लले जानकारी दिनुभयो।
सो क्रममा अध्यक्ष दाहालले बानेश्वरस्थित सङ्घीय संसद् भवन र सिंहदरबार सचिवालयमा भएको क्षतिको विषयमा पनि प्रधानमन्त्रीलाई अवगत गराउनुभयो। प्रधानमन्त्री कार्कीले राष्ट्रियसभाको भूमिका देशलाई शान्ति र स्थिरतातर्फ लैजान महत्वपूर्ण हुने उल्लेख गर्दै वर्तमान संकट समाधानका लागि सहकार्य आवश्यक रहेको बताउनुभयो।

