सडकको अवस्था हेरेर मात्रै दसैँ अग्रिम टिकट बुकिङ: यातायात व्यवसायी महासङ्घ



काठमाडौँ, भदौ ३१ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यस वर्षको दसैँ यात्राका लागि अग्रिम टिकट बुकिङ सडकको अवस्थाअनुसार मात्र खोलिने जनाएको छ।

आज यातायात व्यवस्था विभागमा भएको छलफलपछि महासङ्घका अध्यक्ष विजयबहादुर स्वारले बिग्रिएका सडकका कारण बाहिर जाने बस उपत्यकामा फर्कन ढिलाइ हुने भएकाले तत्काल अग्रिम बुकिङ खुलाउन सकस भएको बताउनुभयो। उहाँले भने, “सडक सहज नभएकाले तत्काल धेरै दिन अघिदेखि बुकिङ खोले समस्या बढ्न सक्छ। तर नागरिकले दुई–तीन दिनअघिको टिकट लिन चाहे अहिले पनि बसपार्कमा उपलब्ध छ।”

यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले गत वर्ष भारी वर्षाका कारण यात्रामा समस्या भएको स्मरण गर्दै यस पटक सडक सुधारमा छलफल र समन्वय भइरहेको जानकारी दिनुभयो। उहाँले अनलाइन टिकटलाई प्राथमिकता दिन, पारदर्शी भाडादर कायम गर्न र सवारी मर्मतपछि मात्रै सञ्चालन गर्न व्यवसायीलाई आग्रह गर्नुभयो।

प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले यात्रु सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउन आवश्यक सुरक्षा व्यवस्था मिलाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्