निर्वाचन आयोगद्वारा फागुन २१ का लागि तयारी सुरु



काठमाडौँ, भदौ ३१ । प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन आयोगले प्रारम्भिक तयारीका काम सुरु गरेको छ।

यसअघि आगामी कात्तिक १७ गतेका लागि तय भएको रूपन्देही–३ को उपनिर्वाचन कार्यक्रम रद्द गरी आयोगले मध्यावधि निर्वाचनका लागि योजना तर्जुमा थालेको हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन घोषणासँगै सरकारसँग औपचारिक परामर्श, व्यवस्थापकीय तयारी तथा आवश्यक योजना अगाडि बढाइरहेको जानकारी दिनुभयो।

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निर्वाचन खर्चका लागि बजेट परिमार्जनमार्फत रकम सुनिश्चित गर्ने घोषणा गरिसक्नुभएको छ।

‘जेनजी पुस्ता’ आन्दोलनबाट उत्पन्न राजनीतिक परिस्थितिका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ गते राजीनामा दिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो। सोही दिन प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति घोषणा गरिएको हो।

प्रतिक्रिया दिनुहोस्