प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको शिष्टाचार भेट
काठमाडौँ,भदौ ३१। प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा दुई देशबीचका द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको छ। सो अवसरमा प्रधानमन्त्री कार्कीले वर्तमान सरकारको प्रमुख कार्यादेश निर्वाचन भएकाले त्यसमा सहयोग गर्न आग्रह गर्नुभएको थियो।
भेटका क्रममा राजदूत श्रीवास्तवले प्रधानमन्त्री कार्कीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बधाई सन्देश हस्तान्तरण गर्नुभयो। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री मोदीको सन्देशमा नेपाल–भारतबीचको मित्रता र सहयोगलाई अझ सुदृढ बनाउन मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
त्यसैगरी राजदूत श्रीवास्तवले असल छिमेकीको हैसियतले भारतले नेपाललाई आवश्यक सहयोग गर्ने आश्वासन दिनुभयो। साथै उहाँले आगामी असोज २ गते प्रधानमन्त्री मोदी र प्रधानमन्त्री कार्कीबीच टेलिफोन वार्ता हुने जानकारी गराउनुभएको छ।

