चाडपर्व लक्षित रुट परमिट घटस्थापनादेखि खुला, अनलाइन टिकटलाई प्राथमिकता



काठमाडौँ,असोज १ । घटस्थापनादेखि असोज २२ गतेसम्म नेपालभरका सार्वजनिक सवारीसाधनलाई रुट परमिट खुला गर्ने निर्णय गरिएको छ।

यातायात व्यवस्था विभागमा आज बसेको सरोकार भएका निकायको बैठकले चाडपर्व अवधिलाई लक्षित गर्दै मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णयसमेत गरेको हो। बैठकले यात्रुवाहक सवारीसाधनको प्रभावकारी अनुगमन, अनलाइन टिकट बिक्रीलाई प्राथमिकता, यात्रुको परिचय खुल्ने विवरणसहितको चलानी लिएर मात्र सवारी सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको विभागले जनाएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार अनधिकृत काउन्टर, परिचयपत्र र पोसाक नभएका व्यक्तिबाट टिकट बिक्री गर्न नदिने निर्णय भएको छ। त्यस्तै, खाद्यान्नलगायत अत्यावश्यक वस्तु बाहेकका ठूला सवारीसाधन घटस्थापनादेखि पूर्णिमासम्म नारायणघाट–काठमाडौँ खण्डमा सञ्चालन गर्न रोक लगाइने पनि उहाँले जानकारी दिनुभयो।

यातायात चालकको स्वास्थ्य परीक्षण, लामो दूरीका सवारीको प्रस्थानअघि यान्त्रिक अवस्था अनिवार्य परीक्षण, सडक दुर्घटना न्यूनीकरणका लागि निगरानी बढाउने निर्णय गरिएको छ। उपत्यकाबाट बाहिरिने यात्रु सहज बनाउन उपत्यकाका १५ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिनेछ।

यस्तै, चाडपर्व अवधिभर प्रभावकारी अनुगमनका लागि यातायात व्यवस्था विभागले सरोकार भएका निकाय सम्मिलित अनुगमन टोलीसमेत गठन गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्