आज देशभर सार्वजनिक बिदा



काठमाडौँ,असोज १ । गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप आज सार्वजनिक बिदा दिने घोषणा गरेको छ।

मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले मंगलबार जारी गरेको विज्ञप्तिमा भदौ ३० गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार आज नेपालभर सार्वजनिक बिदा दिइएको जानकारी दिनुभएको हो।

विज्ञप्तिमा भनिएको छ, “भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन असोज १ गते बुधवार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने तथा राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकार (मन्त्रिपरिषद्) बाट निर्णय भएको बेहोरा सबैको जानकारीका लागि प्रकाशित गरिएको हो।”

यसअघि ‘जेनजी’ आन्दोलनका क्रममा प्रहरीसँगको झडपमा परी दर्जनौं युवाले ज्यान गुमाएका थिए। सरकारको निर्णयअनुसार सो दिन नेपालभर सार्वजनिक निकाय, दूतावास तथा नियोगहरूले राष्ट्रिय शोकका रूपमा झण्डा आधा झुकाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्