नुवाकोटको छहरे हुँदै पूर्वी क्षेत्र जोड्ने मध्य पहाडी मार्ग पहिरोले अवरुद्ध
नुवाकोट,असोज १। नुवाकोटको छहरे मोड नजिकै मध्य पहाडी राजमार्ग गएराति गएको पहिरोका कारण अवरुद्ध भएको छ।
शिक्षक मधुसूदन पौडेलका अनुसार राति करिब १ बजे खाेल्सामा गएको ठूलो पहिरोले सडक पुरिँदा सवारीसाधन आवागमन पूर्णरूपमा ठप्प भएको हो। सडक बन्द भएपछि शिवपुरी गाउँपालिकाको तल्लो भेग र पञ्चकन्या गाउँपालिकाका तल्लो क्षेत्र हुँदै पूर्वी क्षेत्रतर्फ गइरहेका यात्रु बाटैमा रोकिएका छन्।
चाडपर्व नजिकिँदै गरेको बेला सडक अबरुद्ध हुँदा यात्रुहरू मर्कामा परेका छन्। पहिरो पन्छाउन समय लाग्ने अनुमान गरिएको छ भने तत्काल वैकल्पिक मार्गसमेत सहज नभएकाले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ।

