आज विश्वकर्मा पूजा मनाइँदै
काठमाडौं,असोज १ । असोज सङ्क्रान्ति अर्थात् विश्वकर्मा पूजाको अवसरमा आज देशभर प्रविधि तथा शिल्पसँग सम्बन्धित व्यवसायमा संलग्न व्यक्तिहरूले धुमधामका साथ पूजा–आराधना गर्दैछन्।
सनातन धर्मअनुसार विश्वकर्मालाई प्रविधि र शिल्पका देवता मानिन्छ। यस दिन विशेषगरी काम गर्ने औजार, सवारीसाधन, मेसिन तथा यान्त्रिक सामग्रीको पूजा गर्ने परम्परा छ। कार्यस्थल सजाएर पूजा–आराधना गर्ने र आफूले गर्ने पेशामा सफलता र समृद्धि प्राप्त होस् भन्ने विश्वास राखिन्छ।
कालिगढ तथा प्रविधि क्षेत्रमा संलग्नहरूले विश्वकर्मा खुसी भएमा आफ्नै जीवनमा पनि सीप र गुण आशीर्वादस्वरूप प्राप्त हुने विश्वास गर्छन्। पौराणिक ग्रन्थ र संस्कृत साहित्यमा विश्वकर्मालाई ठूला वास्तुविद् र शिल्पकारका रूपमा उल्लेख गरिएको छ। द्वापरयुगमा राक्षसको अत्याचारबाट भगवान् कृष्णलाई सुरक्षित राख्न उनले समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरेको कथा प्रचलित छ।

