देशभर बदली, विभिन्न प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काठमाडौं,असोज १ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेकाले देशभर वर्षाको प्रभाव देखिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। बागमती र लुम्बिनी प्रदेशसहित पहाडी भूभागका केही स्थान र अन्य भूभागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ। त्यस्तै कोशी, बागमती, कर्णाली प्रदेशका पहाडी भूभाग र लुम्बिनीका तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली हुने महाशाखाले जनाएको छ। यस अवधिमा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा अन्य स्थानका केही भागमा मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।
महाशाखाले सम्भावित भारी वर्षाले पहिरो, बाढी र साना नदी–नाला उफ्रने जोखिम हुन सक्ने भएकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

