सिंहदरबार परिसरमा जलेका सवारीसाधन हटाउन मन्त्री कुलमान घिसिङको निर्देशन
काठमाडौँ,असोज १ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलेका सवारीसाधन तत्काल हटाएर अन्यत्र व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ।
मन्त्री घिसिङको सचिवालयका अनुसार उहाँले बुधबार सिंहदरबार परिसरको निरीक्षण गर्दै जलेका सवारीसाधनका कारण कार्यालय परिसर कुरुप देखिएको उल्लेख गर्दै छिटोभन्दा छिटो व्यवस्थापन गर्न आदेश दिनुभयो।
“कार्यालयलाई थोत्रो देखाएर राख्नुभएन, बाहिरी भागलाई आकर्षक र व्यवस्थित बनाउनुपर्छ,” मन्त्री घिसिङले भन्नुभयो, “क्षति भएका सवारीसाधन तत्काल हटाएर सकारात्मक सन्देश दिनुपर्छ।”
उहाँले आगलागीबाट आंशिक मात्र क्षति भएका भवनलाई रङ–रोगन गरी चाँडै प्रयोगमा ल्याउन र क्षतिको मूल्याङ्कन तुरुन्त गर्नसमेत निर्देशन दिनुभएको छ। साथै, ‘हाम्रा संरचना हामी आफैँ बनाऔँ’ अभियानमार्फत सरकार र स्वदेश–विदेशमा रहेका नेपालीबाट सहयोग संकलन गरी पुनर्निर्माण सुरु गरिने बताउनुभयो।
यससँगै सहरी विकास मन्त्रालयले मातहतका संरचनामा भएको क्षति यकिन गर्न कार्यदल गठन गरी काम सुरु गरिसकेको जनाएको छ।

