एसिया कप टी–२० मा बङ्गलादेशको दोस्रो जित, अफगानिस्तान आठ रनले पराजित



अबुधाबी,असोज १। युएईमा जारी एसिसी टी–२० एसिया कप क्रिकेटमा बङ्गलादेशले दोस्रो जित निकालेको छ।

जायद क्रिकेट रंगशालामा मंगलबार राति भएको खेलमा बङ्गलादेशले अफगानिस्तानलाई ८ रनले पराजित गर्दै समूह ‘बी’ को दोस्रो स्थानमा उक्लिएको हो।

पहिलो खेलमा हार ब्यहोरेको बङ्गलादेशले तेस्रो खेलमा दोस्रो जित दर्ता गर्दै चार अंकसहित सुपर फोरमा पुग्ने सम्भावना कायम राखेको छ। अफगानिस्तानले पनि दुई खेलबाट दुई अंक जोडेका कारण दुवै टोलीको सम्भावना खुला छ।

जितका लागि १५५ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २० ओभरमा सबै विकेट गुमाउँदै १४६ रनमै सीमित रह्यो। रहमानउल्लाह गुरबाजले सर्वाधिक ३५ रन बनाए भने अज्मतुल्लाह ओमरजाईले ३०, कप्तान राशिद खानले २०, गलबदिन नइमले १६, मोहम्मद नबीले १५ र नुर अहमदले १४ रन जोडे।

बलिङतर्फ बङ्गलादेशका मुस्ताफिजुर रहमानले तीन विकेट हात पार्दा नासुम अहमद, राशिद हुसेन र तस्किन अहमदले दुई–दुई विकेट लिन सफल भए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १५४ रन बनाएको थियो। तान्जिद हसनले ५२ रनको अर्धशतक प्रहार गरे भने सैफ हसनले ३०, तोविड हृदयले २६, जाकिर अली र नुरुल हसनले अविजित १२–१२ तथा शमिम होसैनले ११ रन जोडे।

अफगानिस्तानका बलर राशिद खान र नुर अहमदले दुई–दुई विकेट लिँदा अज्मतुल्लाह ओमरजाईले एक विकेट लिन सफल भए। एजेन्सी

प्रतिक्रिया दिनुहोस्