अध्यक्ष माधवकुमार नेपालद्वारा ‘जेनजी’ सहिदप्रति श्रद्धाञ्जलि
काठमाडौं, असोज १ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउने सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्।
अध्यक्ष नेपालले आज शोक वक्तव्य जारी गर्दै सहिद परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्। साथै, प्रदर्शनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
उनले आफ्नो पार्टीले सुरु देखिनै जेनजी आन्दोलनका जायज मागप्रति समर्थन र ऐक्यबद्धता जनाएको स्मरण गर्दै तत्कालीन सरकारको दम्भ र अहङ्कारका कारण ठूलो जनधनको क्षति भएको उल्लेख गरेका छन्।
वक्तव्यमा भनिएको छ, “जनताको चाहना र भावना अनुरुप पारदर्शी तथा जनउत्तरदायी शासन प्रणाली कायम गर्न नसक्दा उत्पन्न निराशा र आक्रोशकै परिणाम स्वरुप त्यो घटना घटेको हो। भ्रष्टाचार, कुशासन, बेरोजगारी, युवा पलायन तथा रुपान्तरणबाट टाढा रहने नेतृत्व शैली नै संकटको मूल कारण हो।”
अध्यक्ष नेपालले सबै राजनीतिक दल, नागरिक समाज, राज्य र निजी क्षेत्रबीच हातेमालो र सहकार्य गरेर अघि बढ्न आफूहरू सदैव तयार रहेको स्पष्ट पारेका छन्।

