नुवाकोटको छहरे बजारमा ‘जेनजी’ सहिदको सम्झनामा दीप प्रज्वलन
नुवाकोट, असोज १ । भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने सहिदहरूको स्मृतिमा नुवाकोटको छहरे बजारमा बुधबार साँझ दीप प्रज्वलन कार्यक्रम गरिएको छ।
स्थानीय नागरिकले दीप प्रज्वलन गर्दै श्रद्धाञ्जलीसभा आयोजना गरेका थिए। कार्यक्रममा मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरिएको थियो।
श्रद्धाञ्जलि सभामा एक मिनेट मौन धारण गरिएको थियो भने राष्ट्रिय झण्डा आधा झुकाइयो। सोही अवसरमा राष्ट्रिय गान र राष्ट्रिय गीतमा सहभागीहरू सहिदप्रति नतमस्तक बनेका थिए।
कार्यक्रमले ‘जेनजी’ आन्दोलनमा बलिदान दिने सहिदहरूको सम्झना ताजा पार्नुका साथै परिवर्तन र न्यायका लागि निरन्तर संघर्षरत रहन प्रेरणा दिने सन्देश दिएको स्थानीयले बताएका छन्। सरकारले बुधबार जेनजी सहिदको सम्झनामा एक दिन शोक बिदा समेत दिएको थियोे ।

